Home/ Blog /Career and Finance
Career and Finance

महाभारतमा युवा अभिमन्युको चरित्रबाट के सिक्नुपर्छ?

Astrology
12 Aug 2024 1 min read

वेदव्यासले रचना गरेको महाभारतमा अभिमन्युलाई आज्ञाकारी पुत्र, दिक्षित, साहसी, निर्भय र परमवीर योद्धाका रूपमा चित्रण गरिएको छ। युद्धको तेह्रौँ दिनसम्म उनको व्यक्तित्व विशेष रूपमा उभिएको थिएन, यद्यपि आफ्नो युद्धकौशलबाट उनले भीष्म जस्ता ठूला ठूला योद्धाहरूलाई धेरै पटक चकित पारिसकेका थिए। तेह्रौँ दिनमा जब चक्रव्यूह भेदनको जिम्मेवारी उनको ठुलोबुवा र काकाहरूले दिए, त्यसबखत उनलाई यो थाहा थियो कि उ चक्रव्यूहबाट बाहिर निस्कने कला जान्दैनन, तैपनि उनले यो जिम्मेवारी लिन तयार भए। उनले यो कुरा ठुलोबुवा र काकाहरू लाई बताएका पनि थिए तर पाण्डव योद्धाहरूले उनलाई आश्वस्त गरे कि हामीहरू तिम्रो पछाडि पछाडि रहनेछौं र युद्धमा आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउनेछौं।

अभिमन्युले त्यस दिन युद्धमा अद्भुत वीरता को प्रदर्शन गरे। युवा जोशले भरिएका कुशल वीर अभिमन्युले धेरै महारथीहरूसँग एकैपटक युद्ध गर्दै उनीहरूलाई घाइते बनाएका थिए । जसमा अश्मकपुत्रलाई मृत्युको घाट उतार्नुका साथै शल्यलाई मूर्छित बनाएका थिए। आँ खै अगाडि दाजूको मृत्युबाट क्रुद्ध भएर युद्ध गर्न आएका शल्यका भाइलाई पनि उनले मृत्यु नै उपहार दिए। त्यसपछि उनले दुःशासन र महावीर कर्णलाई पराजित गरिदिए। कर्णको मद्दत गर्न आएका उनका भाइलाई पनि अभिमन्युले मारी दिए। त्यसपछि अभिमन्युले कर्णका पुत्र वृषसेनलाई पराजित गरे लगत्तै वसातीयलाई पनि परास्त गरि मृत्यु नै उपहार दिए। यसरी नै उनले सत्यश्रवा, रुक्मरथ र उसका साथी क्षत्रियहरूलाई पनि मारिदिए त्यसपछि कौरब दाजूभाईका जेष्ठ्य सदस्य महाबलशाली दुर्योधनलाई पनि पराजित गरिदिएका थिए।

त्यसपछि उनले दुर्योधनका पुत्र लक्ष्मण र क्राथपुत्र नामक योद्धालाई पनि मार्न सफल भएका थिए।

त्यसपछि उनको युद्ध ६ जना युद्ध महारथीसँग एक्लै युद्ध गर्दै वृन्दारक, कोसलराज वृहद्बललाई दस हजार अन्य राजकुमारहरूसँगै मार्न सफल भए। लगत्तै उनले कर्णका छ मन्त्रिहरू र अश्वकेतुलाई पनि मारेका थिए ।

यस समयमा द्रोणाचार्यको प्रेरणाले ६ महारथीहरूले एकैसाथ मिलेर उनको धनुष र रथलाई नष्ट गरे। त्यसपछि अभिमन्युले खड्ग लिएर आकाशमा विचरण गर्दै युद्ध गर्न खोजे, तर द्रोणाचार्यले उनको खड्गलाई र कर्णले उनको ढाललाई टुक्रा टुक्रा पारिदिए। त्यसपछि अभिमन्युले चक्र लिएर युद्ध गर्न खोजे त्यसबखत फेरी बिरोधीहरूले उनको चक्रलाई पनि टुक्रा टुक्रा गरिदिए। तब अभिमन्युले गदा लिएर अश्वत्थामामाथी आक्रमण गरे र उनका घोडाहरू तथा पार्श्वरक्षकहरूलाई मार्न सफल भए। त्यसपछि उनले सुबलपुत्र कालिकेय र उसका सतहत्तर गान्धार योद्धाहरूलाई, दस वसातीय रथीहरूलाई, कैकेय देशका दस हातिहरूलाई मारेर सात रथहरूलाई नष्ट गर्दै दुःशासनकुमारका घोडाहरूलाई मारेर उसको रथलाई पनि नष्ट गरिदिए।

यसपछि दुःशासनकुमारले गदाले अभिमन्युमाथि निर्मम प्रहारले घाइते भएर ढलेका थिए। दुःशासनकुमार पहिले उठेर अभिमन्युमाथि पुन: प्रहार गरे। यो प्रहारबाट अभिमन्युको मृत्यु भयो। (युद्धको यो वर्णन महाभारतको द्रोणपर्व अन्तर्गत अभिमन्युवध पर्वमा उपलब्ध छ।)

अभिमन्युको वीरताको यो गाथा यहीं समाप्त हुन्छ र हाम्रा लागि यसले धेरै सिकाइहरू छोड्दछ जुन तल प्रस्तुत गरिएका छन्।

१) प्राणको भय भए पनि कर्तव्यपालनमा विचलित हुनु हुँदैन। अभिमन्यु जान्दथे कि चक्रव्यूहबाट बाहिर निस्कन गाह्रो छ, तर उनले बिना कुनै डर त्यसमा प्रवेश गरे।
२) अपूरो शिक्षा खतरनाक हुन्छ। अभिमन्यु चक्रव्यूहमा प्रवेश गर्न राम्ररी जान्दथे तर त्यसबाट निस्कने ज्ञान भने उनमा थिएन। यो अपूरो शिक्षा नै उनका लागि प्राणघातक बन्यो।
३) अभिमन्युको साहसबाट योद्धाहरू र युवाहरूलाई वीर र पराक्रमी बन्न सिक्नुपर्छ।
४) अभिमन्युको चरित्रबाट योद्धाहरूले व्यक्तिगत पराक्रमभन्दा आफ्नो पक्षको हितलाई बढी महत्व दिनुपर्छ। यदि अभिमन्युले व्यूहलाई तोडेर तुरुन्तै अगाडि न गएका भए र आफ्नो साथमा ठूला पाण्डव योद्धाहरू जस्तै भीम र सात्यकिलाई लिएर उनीहरूलाई प्रवेश गराउन साथ लिएका भए, उनले कौरव सेनाको एक्लै सामना गर्नुपर्नेथिएन र युद्धको परिणाम केही फरक हुन सक्थ्यो।

पुराना समयमा भएका युद्धहरूमा युद्धरत पक्षहरूको एउटा रणनीति यो पनि रहन्थ्यो कि शत्रुको खास टुकडीलाई आफ्नै पछि ल्याएर आफ्नो सेना भित्र घुसाउन प्रेरित गर्ने र त्यो टुकडीलाई शत्रु सेनाबाट पृथक् गरिदिने। यस अवस्थामा त्यो टुकडीलाई घेराबन्दी गरेर समाप्त गरिदिन्थे, जसबाट उत्पन्न भयले शत्रु सेनाको व्यूह छिन्नभिन्न हुने गर्दथ्यो र यसको फाइदा दोस्रो पक्षलाई मिल्थ्यो।

सुल्तान अलाउद्दिनसँग भएको युद्धमा मंगोलहरूले यही रणनीति अपनाएका थिए। उनीहरूले भाग्ने नाटक गरे जसले जफर खाँको नेतृत्वमा सुल्तानको एउटा टुकडी उत्साहित भएर उसको पछाडि लाग्न थाल्यो। अलाउद्दिनले यो कुरा बुझ्यो कि यो मंगोलहरूको चाल हो र उसले सेनालाई निर्देशन दियो कि कोही पनि जफर खाँको पछाडि नलागोस्। यसको परिणामस्वरूप जफर खाँको सेना मंगोलहरूले घेराबन्दी गरेर नष्ट गरे, तर सुल्तानको व्यूह अक्षुण्ण रह्यो र मंगोलहरूले यस कारणले फर्केर उसमाथि आक्रमण गर्ने साहस गरेनन्। 

व्यूहमा एक्लै गएर फसिनु अभिमन्युको गल्ती थियो।

५) अभिमन्युको युद्धनीतिमा सबैभन्दा ठूलो गल्ती यो थियो कि त्यो अवस्थामा पनि आक्रामक हुनु, जब सुरक्षात्मक हुनु आवश्यक थियो। उनले जतिबेला आफु व्यूहमा एक्लै फसेको र व्यूहलाई तोड्न असम्भव छ भन्ने चाल पाए, त्यसबखत उनी फिर्ता हुने प्रयास गर्नुपर्थ्यो र यस समयमा केवल सुरक्षात्मक भएर युद्ध गर्नुपर्थ्यो, जो उनीमाथि आक्रमण गरिरहेका थिए। तर अभिमन्युले यसो नगरीकन कौरव योद्धाहरूलाई आक्रमण गर्न जारी राखिराखे। रथ र धनुष नष्ट भए पछि पनि तलवार, चक्र र गदासँग युद्ध गर्दै उनी आक्रामक नै रहे।

महाभारतको युद्धमा र त्यसभन्दा पहिले पनि युद्धमा पराजित योद्धाहरू या त आफ्नो पराजय स्वीकार गर्दथे वा युद्धबाट हट्दथे। (अर्जुनको दिग्विजय सम्बन्धी युद्ध र विराटनगरको युद्ध यसको उत्कृष्ट उदाहरण हुन्।) यो कायरता मानिँदैनथ्यो र यदि योद्धाहरू आमरण युद्ध गर्न निर्णय गरेर युद्धमा प्रवेश नगरेका भए, (जसरी अर्जुन र कर्णको अन्तिम युद्धमा भयो) त प्रतिद्वन्द्वीलाई युद्धबाट हट्न दिने अवसर दिनमा कुनै आपत्ति हुँदैनथ्यो। रथ र धनुषविहीन भएपछि अभिमन्युलाई युद्धबाट हट्नु थियो र केवल ती योद्धाहरूलाई आक्रमण गर्नु थियो जो उनीमाथि आक्रमण गरिरहेका थिए। उनले यो नगरेर खोजी खोजी योद्धाहरूलाई आक्रमण गर्न जारी राखे, जसका कारण उनले आफ्नो ज्यान गुमाउनुपर्यो।

सैन्यनीतिको सबैभन्दा महत्वपूर्ण अङ्ग यो हुन्छ कि योद्धाहरू निरर्थक रूपमा आफ्नो ज्यान न गुमाउन। त्यसैले उनीहरूलाई त्यो अवस्थामा युद्धभूमिबाट सुरक्षित रूपमा हट्न भनिन्छ, जुन अवस्थामा उनीहरूको युद्धभूमिमा रहनूले उनको पक्षलाई फाइदा हुँदैन। संसारका सबैभन्दा महान सेनापतिहरूमध्ये एक चङ्गेज खाँले आफ्ना सैनिकहरूलाई स्पष्ट निर्देशन दिएका थिए कि जहाँ हारको प्रबल सम्भावना हुन्छ, त्यहाँ उनीहरूले निरर्थक आफ्नो ज्यान नदिन, र मौका मिल्नासाथ त्यहाँबाट भाग्नुपर्छ। 

द्वितीय विश्वयुद्धमा डनकिर्कबाट अंग्रेज सेनाको पलायन त प्रसिद्ध नै छ, जसलाई महायुद्धको एउटा गौरवमय घटना मानिन्छ। यो घटनामा गम्भीर संकटबाट सेना निकाल्न सफलतापूर्वक सफल भएको प्रसंग उल्लेख छ। त्यसैले, अभिमन्युलाई सुरक्षात्मक नीति अपनाएर व्यूहबाट बाहिर निस्कने प्रयास गर्नुमा कुनै दोष हुने थिएन। 

यो एक झुटो कथन हो कि कौरवहरू अभिमन्युलाई मार्न लागिपरेका थिए। युद्धको विवरणबाट स्पष्ट छ कि ६ महारथीहरूले अभिमन्युलाई निरस्त्र गर्नेबाहेक अरू केही गरेनन्। यो त अभिमन्युकै गल्ती थियो कि त्यसपछि उनले दुःशासनको पुत्रमाथि गदाले आक्रमण गरे। दुःशासनको पुत्रले उसको सामना गरेपछि, यस युद्धमा कसै न कसैको मृत्यु हुनैपर्थ्यो। 

अभिमन्युको युद्धनीतिमा यी नै दोषहरू थिए जसले गर्दा उनी युद्धबाट जोगिएर निस्कन सकेनन। यो लेख वेदव्यासद्वारा रचित महाभारतमा अभिमन्युको युद्धको वर्णनको आधारमा लेखिएको हो।
 

Share

You may also be interested in