परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ॥
भगवान् श्रीकृष्ण सम्पूर्ण मानव सभ्यताका लागि प्रेरणाको अमृत स्रोत, जीवनका रहस्यका उद्घाटक र धर्मको मूल दर्शनका दाता हुन्। द्वापर युगमा जन्मनुभएका यी युगपुरुष केवल ऐतिहासिक वा धार्मिक पात्र मात्र होइनन्, एक मार्गदर्शक, दार्शनिक, मित्र तथा क्रान्तिकारी व्यक्तित्वको रूपमा स्थापित हुनुहुन्छ। महाभारतको कुरुक्षेत्रमा अर्जुनलाई प्रदान गरिएको श्रीमद्भगवद गीताको अमर उपदेश त्यतिबेलाको युद्धभूमिका लागि मात्र सीमित थिएन। त्यो उपदेश युगान्तर पार गर्ने दिव्य सत्य थियो, जसले हजारौं वर्षपछि पनि मानव जीवनलाई मार्गदर्शन गर्दै आइरहेको छ।
श्रीमद्भगवद्गीता केवल धार्मिक ग्रन्थ मात्र होइन, जीवनको सार्वभौम मार्गदर्शन हो भन्ने गहिरो सन्देश दिन्छ। महाभारतको भीष्मपर्वमा कृष्ण र अर्जुनबीच भएको संवाद रणभूमिमा घटित भए पनि, यसको शिक्षा केवल युद्धको प्रसंगमा सीमित छैन। यो त जीवनका प्रत्येक मोड, संघर्ष र निर्णयका क्षणहरूमा मार्गदर्शन गर्ने गहिरो ‘म्यानुअल’ हो।
गीता कुनै जाति, धर्म, समय, स्थान वा युगको सीमामा बन्दिदैन। यसको सत्य सन्देश आज पनि समान रूपमा लागू हुन्छ; सहनशीलता (तितिक्षा), विवेक र कर्ममार्गप्रतिको अटूट आस्थाको रूपमा। यही कारणले, श्रीमद्भगवद्गीता कुनै एक धर्म वा समुदायको मात्र सम्पत्ति होइन; यो सम्पूर्ण मानवताको साझा सम्पदा हो।
गीताको शिक्षाले मानिसलाई आत्मज्ञानतर्फ उन्मुख गर्छ, कर्तव्यबोध जागृत गराउँछ र सन्तुलित जीवन जिउन प्रेरणा दिन्छ। कर्मयोगले परिणामप्रतिको आसक्तिबिना कर्म गर्ने अभ्यास सिकाउँछ, ज्ञानयोगले सत्य र आत्माको वास्तविक स्वरूप प्रकट गराउँछ, र भक्तियोगले ईश्वरप्रतिको समर्पण र प्रेमलाई परिपूर्णता दिन्छ।
यसैले, हाम्रो जीवनका रणभूमिहरू; चाहे ती व्यक्तिगत चुनौती हुन्, पारिवारिक द्वन्द्व, व्यावसायिक कठिनाइ वा सामाजिक संघर्ष, सबैमा गीता समान रूपमा मार्गदर्शक बनेर खडा हुन्छ।
श्रीमद्भगवद्गीता केवल पूजा कोठामा राख्ने पुस्तक होइन, बरु दैनिक जीवनमा उतार्ने जीवन सूत्र हो । जब हामी परिणामभन्दा कर्ममा ध्यान दिन सिक्छौँ, सुख-दुःखमा समान भाव राख्छौँ र ज्ञान, कर्म र भक्ति तिनैलाई मिलाएर अघि बढ्छौँ, तब जीवन वास्तवमै सन्तुलित र सार्थक बन्छ जसले कर्तव्य, निष्ठा र सत्यप्रति अडिगता बनाउँछ । यसले व्यक्ति मात्र होइन, समाज र राष्ट्रलाई पनि दीर्घकालीन स्थिरता दिन्छ ।
युग बदलिँदै जाँदा मानिसको जीवनशैली, प्रविधि र सोच बदलियो, तर कृष्णको उपदेश अझै ताजा र सान्दर्भिक छ । गीताले व्यवसाय दीर्घकालीन सफलता कर्तव्यनिष्ठा र नैतिक आचरणमा निहित छ भन्ने कुराको ज्ञान दिन्छ । शिक्षामा- आत्मअनुशासन र अध्ययनप्रति निष्ठा कृष्णदर्शनको प्रत्यक्ष अनुप्रयोग हो भन्छ । सामाजिक जीवनमा- सहिष्णुता, प्रेम र सहयोगको भाव नै जीवनको सार हो भन्ने ज्ञान श्रीकृष्णले गीतामा दिनुभयो ।
आजको डिजिटल युगमा प्रविधि जीवनको केन्द्रमा छ । कृष्णको विचारलाई डिजिटल प्लेटफर्म मार्फत लाखौं मानिस समक्ष पुर्याउने कोसिस रहेको देख्न सकिन्छ । जसमध्ये अनलाइन गीता क्लास र डिजिटल पुस्तकालय मार्फत ज्ञानको पहुँच विश्वव्यापी रहेको छ । मोबाइल एप र पड्कास्ट मार्फत दैनिक गीता श्लोक र व्याख्या सहजै पाउन सकिन्छ । सोसल मिडियामा कृष्णलीला, भक्ति गीत र प्रेरणादायी सन्देशहरू साझा भइरहेको देखिन्छ । भर्चुअल रियलिटी (VR) मा वृन्दावन दर्शन, महाभारत युद्धको अनुभव र श्रीमद्भगवद्गीताको दिव्य आनन्द समेत पाइन्छ आज ।
सहज जीवन व्यवस्थापनका लागि गीता व्यवस्थापनका सिद्धान्तका रूपमा पाठ्यक्रममा पढाइँदैछ। मानसिक स्वास्थ्यको लागि तनाव व्यवस्थापनमा कृष्णको सामत्वयोगको अभ्यास धेरै ठाउँमा गराइएको पाइन्छ । युवापुस्तामा डिजिटल कथा र गेममार्फत कृष्णको चरित्र जीवन्त गरिएको छ । सामाजिक नेतृत्वमा श्रीकृष्णको रणनीति र कूटनीति नेतृत्व क्षमतामा लागू भएको पनि देखिन्छ । यसरी, कृष्णको दर्शन अब भौगोलिक सीमामा सीमित छैन; यो ग्लोबल डिजिटल चेतनामा रूपान्तरित भइसकेको छ ।
भगवान् श्रीकृष्ण कुनै केवल अतीतका पात्र होइनन् उहाँ विचार, दर्शन र प्रेमको अनन्त ऊर्जा हुनुहुन्छ । गीता दर्शनले हामीलाई कर्म र धर्मको अद्वितीय सन्तुलन सिकाउँछ भने डिजिटल युगले त्यो ज्ञानलाई विश्वव्यापी रूपमा फैलाउने माध्यम दिएको छ । आजको पुस्ताले यदि गीता दर्शनलाई प्रविधिसँग जोडेर जीवनमा उतार्न सक्यो भने, हामी केवल धार्मिक श्रद्धालु मात्र नभई सचेत, उत्तरदायी, वैज्ञानिक र आध्यात्मिक रूपमा सम्पन्न समाज अनि राष्ट्र निर्माण गर्न सक्षम हुनेछौँ । अस्तु ।।
-ज्योतिषाचार्य / वास्तुविद्
पण्डित नारायणप्रसाद दुलाल